बुधबार, माघ १४, २०८२
Wednesday, January 28, 2026

हिउँदे वर्षा र हिमपातवाट जनजीवन प्रभावित, मौसममा सुधार कहिलेबाट

नेपालका विभिन्न स्थानमा हिमपात र हिउँदे वर्षा हुँदा जनजीवन प्रभावित भएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिमपातका कारण कतिपय स्थानमा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ।

प्रतिकूल मौसमका कारण कतिपय स्थानका उडानहरू पनि रद्द गरिएको हवाई सेवा सञ्चालकहरूले जनाएका छन्।

यात्रामा निस्कनुअघि सम्बन्धित स्थानको मौसमी अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्र जान अधिकारीहरूले आग्रह गरेका छन्। बिहीवारबाट मौसममा सुधार आउन सक्ने मौसमविद्‌ जल तथा मौसम विज्ञान विभागस्थित मौसमविद्‌ विनु महर्जनले बीबीसीलाई बताइन्।

निजी हवाईसेवा प्रदायक बुद्ध एअरका प्रवक्ता दीपेन्द्र कर्णका अनुसार मौसमका कारण राजविराज, भैरहवा र सुर्खेतसहित कतिपय स्थान जाने विमानहरू समयमा उड्न सकेका छैनन्।

चौबीस घण्टा कस्तो?

उच्च पहाडी तथा हिमाली भू‍भागमा पूर्णतया बादल लाग्ने र बाँकी पहाडी तथा तराईका भूभागमा साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविद्‌ महर्जनले बताइन्।

उनका अनुसार वाग्मती। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागका केही स्थानमा मध्यम वर्षा तथा कोशी प्रदेशका पहाडी भूभाग र मधेश प्रदेशका थोरै स्थानमा अनि कोशी प्रदेशको तराईका एक-दुई स्थान हल्का वर्षा हुने पूर्वानुमान छ।

देशको पहाडी र हिमाली भूभागमा बुधवार राति आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।

उसका अनुसार कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।

मौसमविद् महर्जनका अनुसार अहिले देखिएको पश्चिमी न्यूनचापीय प्रणाली पश्चिमतिरबाट नेपाल प्रवेश गरेको र बिस्तारै पश्चिम हुँदै पूर्वतिर सर्ने छ।

“दिउँसोपछि बिस्तारै मधेश प्रदेश र कोशी प्रदेशतर्फ सर्दै जाने छ र केही हदसम्म कमजोर हुँदै जाने छ।”

“रातिको समयमा यो हट्ने र मौसममा क्रमिक रूपमा सुधार आउने देखिन्छ। भोलि [बिहीवार] बाट उच्च पहाडी र हिमाली भूभागबाहेक अन्यत्र मौसम सफा हुने र घाम लाग्ने देखिन्छ।”

तराईका भूभागमा भने बिहीवार बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद्‌ महर्जनले बताइन्।

उनका अनुसार बुधवार बिहान चाहिँ न्यूनतम तापक्रम अलि बढी देखिएको भए पनि दिउँसो अधिकतम तापक्रम केही घट्न सक्छ। “घाम नलाग्ने भएपछि दिउँसो तापक्रम बढ्ने देखिँदैन।”

हिमपात र वर्षा

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूका अनुसार हुम्ला, बैतडी, मुस्ताङ र बाजुरामा बाक्लो हिमपात भएको विवरण आएको छ।

हुम्लामा दुई फिटसम्म बाक्लो हिउँ परेको जानकारी पाइएको मौसमविद्‌ महर्जनले बताइन्।

अन्नपूर्ण आधार क्षेत्र तथा लाङ्टाङमा पनि हिउँ परिरहेको विवरण प्राप्त भएको उनले बताइन्।

महर्जनका अनुसार पछिल्लो १२ घण्टाको अवधिमा कर्णाली प्रदेशको सुर्खेतमा ४२.२ मिलिमिटर वर्षा मापन गरिएको छ। कैलालीमा ३० मिलिमिटर र डडेल्धुरामा २९.८ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ।

“कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका भूभागमा प्रायजसो मध्यम वर्षा भएको देखिन्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भनिन्।.

सतर्कता अपनाउन आग्रह

हिमपात र वर्षासँगै चिसो बढ्दा खास गरी बालबालिका तथा वृद्धावृद्धाले विशेष ख्याल गर्नुपर्ने विज्ञहरू बताउँछन्।

अर्कोतर्फ हिमपात भएपछि कतिपय स्थानमा मानिसहरू हिउँ खेल्न जाने गरेको पनि देखिन्छ।

“खास गरी हिमाली तथा उच्च पहाडी भूभागमा बासिन्दालाई सकेसम्म बाहिर ननिस्किन र न्यायो भएर बस्न आग्रह गर्छौँ। त्यसै गरी यात्रामा निस्किनुअघि सम्बन्धित ठाउँको मौसमी अवस्थाबारे ताजा जानकारी लिएर मात्र जान हाम्रो अनुरोध छ,” राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले बीबीसी न्यूज नेपालीसँग भनिन्।

उनका अनुसार मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङ र रुकुमपूर्वमा सवारी आवागमन अवरुद्ध भएको विवरण आएको छ।

जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीमा पनि यातायात अवरुद्ध भएको छ भने अरू बाक्लो हिमपात भइरहेका अरू कतिपय स्थानका सडकहरूमा पनि यातायात प्रभावित भएको महतले बताइन्।

सुरक्षाकर्मी तथा स्थानीय बासिन्दा मिलेर कतिपय स्थानका सडकहरूमा हिउँ पन्छाउने काम गरिरहेको उनले जनाइन्।

हिउँदेबालीका लागि ‘अमृत’

पछिल्लो हिमपातले जनजीवन प्रभावित भए पनि यसले हिउँदे बालीहरूलाई भने फाइदा पुर्‍याउने कृषि विज्ञहरूले बताएका छन्। उनीहरूका अनुसार यसबाट गहुँ, दलहन लगायतका बाली सप्रिन सघाउ पुग्ने छ।

बालीविज्ञ तथा नेपाल कृषि अनुसन्धान परिषद्‌का प्रवक्ता भानुभक्त पोखरेलले अहिलेको हिमपात र वर्षा हिउँदे बालीहरूका लागि “अमृतजस्तै” भएको बताए।

“पहाडी भूभागलाई हेर्नुभयो भने अधिकांश ठाउँमा सिँचाइको सुविधा छैन। आकाशे वर्षामै भर परेर पहाडमा गहुँ लगाउने गरिन्छ। त्यो भएर अहिले हिउँदे वर्षा र हिमपातले एकदमै राम्रो गर्छ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।

पोखरेलका अनुसार यो हिउँदे वर्षा र हिमपात १०/२० दिनअगाडि भएको भए हिउँदे बालीलाई झन् राम्रो गर्थ्यो। “तर अलिकति ढिलै भए पनि यसले राम्रो गर्छ,” उनले थपे।

त्यसबाहेक अहिलेको वर्षाले डढेलोको घटनामा कमी ल्याउन, प्रदूषण नियन्त्रण गर्न र पहाड भेगमा पछि मकै छरेपछि बोट उम्रिन सघाउने पोखरेले बताए।

“हिउँ परेर पछि हिमनदी पग्लिँदा वैशाख, जेठमा त्यसमा पनि सघाउ पुग्छ। समग्रमा हिउँदे बालीहरू तरकारी, फलफूलदेखि लिएर प्रदूषण नियन्त्रणबाट स्वास्थ्यलाई समेत फाइदा पुर्‍याउने भयो,” उनले अगाडि थपे।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x