बिहिबार, चैत्र ५, २०८२
Thursday, March 19, 2026

आयोगको निर्णयले आगामी निर्वाचन बिथोलिन हुन्न-देउवा समुह, गगन समुहकाे आधिकारिक कांग्रेस भएको दाबी

काठमाडौं – नेपाली काँग्रेसका नेताहरूले निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताएका छन् ।

शुक्रवार नेपाली काँग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले यस्तो बताएका हुन् ।

उनीहरूले आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आफूहरूले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गरे ।

काँग्रेसको आधिकारिकता आफूहरूले पाउने र छुट्टिएर गएकाहरू पनि मूलधारमा नै फर्किने नेताहरूको विश्वास छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने की नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुनेगरी निर्णय गर्न नहुने बताए ।

उनले काँग्रेस चुनावको लागि पूर्णरुपमा तयार भएर जिल्ला जिल्लामा खटिइसकेको बताए । सिन्धुपाल्चोकमा आफूहरूले चुनावी सभा समेत थालेको उनको भनाई छ । यस्तो स्थितिमा आयोगले संविधान विपरीत, काँग्रेसको विधान विपरीत निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै बिथोलिने बताए ।

निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उनको भनाई छ । उनले कसैको बहकावमा, दबाबमा र स्वार्थमा गलत निर्णय नगर्न पनि आग्रह गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि निर्वाचन आयोगले कानुन नियम, संविधान र विधानअनुसार आफूहरूको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले काँग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताए । विभाजनले निर्वाचनसँगै देशको राजनीतिमा पनि ठुलो असर पर्ने उल्लेख गरे ।

उनले सिंहदरबार, संसद्, सर्वोच्च अदालत जलाएजस्तै नेपाली काँग्रेसलाई पनि जलाएर प्रजातन्त्रलाई नै समाप्त पार्न केही तत्त्वहरू लागिरहेको आरोप लगाए । यसमा सबै सचेत हुनुपर्नेमा उनले जोड दिए ।

नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले काँग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताए । उनले प्रतिनिधि सभाको निर्वाचनको लागी माघ ६ गते मनोनयनको लागी देउवाले नै टिकट बढ्ने दाबी गरे । उनले शनिवारबाट नै सभापति देउवाले टिकट बढ्न सुरु गर्ने जानकारी दिए ।

उनले काँग्रेस पार्टी विभाजन नभएको पनि बताए । गगन थापा, विश्वप्रकाश शर्माहरूले अर्को पार्टी गठन नगरेकोले उहाँहरू पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबी गरे ।

उनले भने ‘नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा नै हो । शेरबहादुर देउवाले भोलीबाट ६ गते प्रतिनिधिसभाको लागि मनोनयन गर्न टिकट बढ्नुहुन्छ । नेपाली काँग्रेस पार्टी फुटेको छैन । उहाँहरू (गगन–विश्व) ले अर्को पार्टी गठन गर्नुभएको छैन । उहाँहरू पनि भोली आएर टिकट लिएर चुनाव लड्न जानुहुन्छ ।’

नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोइराला लगायतका नेताहरू पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग गएका थिए ।

उता गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पनि निर्वाचन आयोगसँग छलफल गरेको छ । शुक्रबार निर्वाचन आयोगको कार्यालयमा पुगेर थापा समूहका नेताहरूले छलफल गरेका हुन् ।

थापा समूहले बिहीबार केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निवेदन दिएको थियो। उनीहरुले आफूहरूनै आधिकारिक कांग्रेस भएको दाबी गर्दै आएका छन् ।

यता शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरू आधिकारिक भएको दाबी गर्दै आयोगमा निवेदन दिएका थिए ।

आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली काँग्रेसको विधान र आयोगको विगतका नजिरका आधारमा निर्णय गर्ने जवाफ दिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x