सरकारले अपनाएको आर्थिक नीतिले देशमा ठुलो परिवर्तन ल्यायाे -डा. स्वर्णिम वाग्ले
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा ‘केही भएको छैन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्नु गलत भएको बताएका छन् ।
राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०४८ सालपछि निर्वाचित सरकारले अपनाएको आर्थिक नीतिले देशमा ठुलो परिवर्तन ल्याएको स्मरण गराए ।
उनका अनुसार २०४८ सालमा सुरु गरिएको आर्थिक सुधारका कारण नेपालले औसत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो । उनले भने, ‘यदि ती सुधारलाई निरन्तरता दिएको भए आज नेपालको अर्थतन्त्र करिब १ सय अर्ब डलरको आकारमा पुग्थ्यो, तर अहिले मात्र ४५ अर्ब डलरमा सीमित छ।’
वाग्लेले पछिल्ला डेढ दशकयता नेपाल राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको उल्लेख गर्दै भदौ २३-२४ का घटनाले त्यसको प्रतिविम्ब स्पष्ट देखाएको बताए । जेनजी आन्दोलनले मुलुकलाई नयाँ मोडतिर डोहोऱ्याएको उनको भनाइ छ ।
‘यो संक्रमणलाई सफलतापूर्वक व्यवस्थापन गर्न सके नेपाल नयाँ आर्थिक–राजनीतिक मार्गमा अघि बढ्न सक्छ,’ वाग्लेले भने, ‘तर असफलता भए देश पुनः प्रतिगमनतिर फर्कने जोखिम गम्भीर रूपमा बढ्छ।’
वाग्लेले भने, ‘सबै खत्तम छ, केही हुँदैन भन्ने धारणा गलत हो। नेपालमा केही पनि नभएको होइन, एउटा आधार छ, त्यसलाई स्वीकारेर अघि बढ्नुपर्छ ।’
आगामी निर्वाचनपछि आउने नयाँ नेतृत्वले देशको विकासका लागि दर्जनौँ कानुन तथा नीतिमा संरचनात्मक सुधार गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।


WRITE COMMENTS FOR THIS ARTICLE