स्पेनमा सार्वजनिक स्थलमै खुलेआम चुम्बन किन गरिन्छ ?
स्पेनमा सार्वजनिक स्थलमा चुम्बन गर्नु सामान्य दृश्य हो । पहिलोपटक भेट्दा गालामा दुईपटक चुम्बन गरेर अभिवादन गर्नेदेखि सडक, पार्क र सार्वजनिक चोकमा प्रेमी–प्रेमिकाले खुलेआम चुम्बन गर्नुसम्म त्यहाँको दैनिक जीवनको हिस्सा बनेको छ । तर स्पेनी समाजमा सार्वजनिक रूपमा प्रेम र आत्मीयता प्रदर्शन गर्ने यो सहजतापछाडि लामो सामाजिक, सांस्कृतिक र राजनीतिक इतिहास जोडिएको छ ।
स्पेनमा सार्वजनिक स्थलमा चुम्बनका दृश्य जताततै देखिन्छन् । व्यस्त सडकमा हिँडिरहेका अधबैँसे जोडीदेखि घाम ताप्दै पार्कमा चुम्बन गरिरहेका किशोरकिशोरीसम्म यस्ता दृश्य सामान्य हुन् । भ्यालेन्सियाको लास फालास उत्सवमा आतसबाजी भइरहेका बेला रमाइलोमा झुमेका जोडीहरू पनि खुलेर प्रेम प्रदर्शन गरिरहेका देखिन्छन् ।
घरमा गोपनीयताको अभाव पनि एउटा कारण
स्पेनमा सार्वजनिक रूपमा प्रेम प्रदर्शन हुनुको अर्को कारण आवास व्यवस्थासँग पनि जोडिएको छ । युरोपेली संघका सदस्य मुलुकमध्ये स्पेनमा सबैभन्दा धेरै अर्थात् करिब ६५ प्रतिशत जनसंख्या फ्ल्याटमा बस्छ । घरजग्गाको मूल्य अत्यधिक बढेकाले युवाहरूलाई परिवारबाट अलग भएर बस्न पनि कठिन हुँदै गएको छ ।
प्राध्यापक लासेनका अनुसार, घरमा पर्याप्त निजी ठाउँ नहुँदा मानिसहरू साथीभाइसँग भेटघाट गर्न बार र रेस्टुरेन्टजस्ता सार्वजनिक ठाउँमा जान्छन् । प्रेमी–प्रेमिकाले एकान्तमा समय बिताउन पनि सार्वजनिक स्थलमा अलि एकान्त बेन्च खोज्नुपर्ने अवस्था हुन्छ ।
मानिसहरूले अरूको व्यवहारप्रति नकारात्मक प्रतिक्रिया नजनाउनु र सार्वजनिक रूपमा आत्मीयता प्रदर्शन गर्दा असहज महसुस नगर्नु यसको महत्त्वपूर्ण पक्ष हो ।
जापान, फ्रान्स, जर्मनी र ट्युनिसियामा समेत बसेकी २८ वर्षीया इसाबेल निएतोका अनुसार स्पेनमा प्रेम सम्बन्धको सुरुवातदेखि नै मानिसहरू शारीरिक रूपमा नजिक हुने गर्छन् । दुईपटक मात्र भेटेको व्यक्तिसँग पनि हात समात्ने र सार्वजनिक स्थलमै आत्मीयता प्रदर्शन गर्ने चलन छ ।
फ्रान्कोको शासनदेखि प्रेम प्रदर्शनको स्वतन्त्रतासम्म
आज स्पेनमा सार्वजनिक रूपमा चुम्बन गर्नु सामान्य भए पनि यसको इतिहास सधैँ यस्तो खुला थिएन । फ्रान्सिस्को फ्रान्कोको तानाशाही शासन (सन् १९३९–१९७५) का बेला रूढिवादी क्याथोलिक मान्यता र कडा कानुनले मानिसहरूको सार्वजनिक व्यवहार नियन्त्रण गर्थे । समलैंगिक सम्बन्धलाई अपराध मानिन्थ्यो र सार्वजनिक स्थलमा प्रेम प्रदर्शन गर्नेमाथि पनि निगरानी राखिन्थ्यो । सार्वजनिक रूपमा चुम्बन गरेको आरोपमा जोडीहरूलाई जरिवानासमेत लगाउन सकिन्थ्यो ।
सन् १९७५ मा फ्रान्कोको मृत्युपछि स्पेनमा ठूलो सांस्कृतिक परिवर्तन आयो । म्याड्रिडमा सुरु भएको ‘ला मोभिदा माद्रिलेञा’ नामक विद्रोही सांस्कृतिक आन्दोलनले स्वतन्त्रता र स्व–अभिव्यक्तिलाई प्रोत्साहन गर्यो । पेद्रो अल्मोदोभारजस्ता चलचित्र निर्माताले पुराना रूढिवादी मान्यतालाई चुनौती दिए । यससँगै प्रेम र यौनिकताको अभिव्यक्ति सार्वजनिक जीवनमा बढी देखिन थाल्यो ।
तर यो परिवर्तन स्वतः आएको थिएन । एलजीबीटी अधिकारका लागि सक्रिय समूहहरूले दशकौँदेखि संघर्ष गर्दै आएका थिए ।
यसक्रममा सन् १९८७ फेब्रुअरी २३ मा म्याड्रिडमा भएको एउटा प्रदर्शन महत्त्वपूर्ण मानिन्छ । त्यसको एक वर्षअघि म्याड्रिडको पुएर्ता डेल सोलमा चुम्बन गरिरहेका दुई महिलालाई प्रहरीले पक्राउ गरी ‘सार्वजनिक उछृखंलता’ सम्बन्धी कसुरमा दुई दिनसम्म हिरासतमा राखेको थियो ।
त्यसको विरोधमा स्थानीय अधिकारकर्मी समूहहरूले सामूहिक चुम्बन प्रदर्शन आयोजना गरे । सन् १९८७ देखि १९९० को दशकसम्म म्याड्रिडमा हुने प्रत्येक प्राइड परेडको समापन पुएर्ता डेल सोलमा सामूहिक चुम्बन गरेर गरिन्थ्यो । सडकमा चुम्बन गर्नु शान्तिपूर्ण विरोधको शक्तिशाली माध्यम बन्यो । अन्ततः सन् १९८८ मा सार्वजनिक उछृखंलतासम्बन्धी अपराधको कानुनी व्यवस्था खारेज गरियो ।
स्वतन्त्रता सबैका लागि समान छैन
आज स्पेनभरि सार्वजनिक रूपमा प्रेम प्रदर्शनका दृश्य देखिए पनि सबैले समान रूपमा यस्तो स्वतन्त्रता अनुभव गर्न नसकेको प्राध्यापक लासेन बताउँछिन् । सार्वजनिक बेन्चमा चुम्बन गरिरहेका वृद्ध जोडीले बढी ध्यान आकर्षित गर्न सक्छन् भने समलैंगिक जोडीले अझ बढी सामाजिक निगरानी र प्रश्नको सामना गर्नुपर्ने हुन सक्छ ।
भ्यालेन्सियाकी पूर्वविवाह फोटोग्राफर पाउला फुरियोका अनुसार, स्पेनमा चुम्बन स्वतन्त्रताको प्रतीक बनेको छ । उनका भनाइमा, स्पेनी समाज समग्रमा खुला भए पनि अझै धेरै काम गर्न बाँकी छ । उनी भन्छिन्, ‘चुम्बन एउटा बिम्ब हो । यसले स्पेनमा मानिसले कस्तो स्वतन्त्रता अनुभव गर्न सक्छन् भन्ने झलक दिन्छ । यो स्वतन्त्रताको अभिव्यक्ति हो ।’
स्पेन फर्किएकी ती महिलाले बेन्चमा चुम्बन गरिरहेको जोडी देख्दा महसुस गरेको खुसी केवल आफ्नो देश फर्किएको खुसी थिएन । त्यो सहजता र सामाजिक औपचारिकताभन्दा स्वाभाविक अभिव्यक्तिलाई महत्त्व दिने समाजमा फर्किएको खुसी पनि थियो । सायद स्पेनमा सार्वजनिक रूपमा चुम्बन गर्ने चलनको सबैभन्दा रोचक पक्ष यही हो कि यो कुनै समयको चरम दमनको परिणाम हो ।

WRITE COMMENTS FOR THIS ARTICLE