बुधबार, भदौ १०, २०८३
Wednesday, August 26, 2026

प्रधानमन्त्री बालेन्द्रलाई ११ जना सांसदले प्रत्यक्ष प्रश्न सोध्ने

काठमाडौं – प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका ११ जना सांसदले प्रधानमन्त्री शाहलाई प्रत्यक्ष प्रश्न सोध्ने भएका छन् ।

संसद् सचिवालयमा दर्ता भएको विवरणअनुसार प्रश्न सोध्ने सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी र अमरेशकुमार सिंह रहेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरुङ, नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले पनि प्रधानमन्त्रीलाई प्रश्न सोध्ने भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन र प्रमेशकुमार हमाल, श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले पनि प्रश्न दर्ता गराएका छन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा प्रत्यक्ष प्रश्नोत्तरका लागि निर्धारण गर्न सक्ने व्यवस्था छ ।

नियमावलीअनुसार एक पटकको प्रश्नोत्तर कार्यक्रममा बढीमा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउनेछन् । तर यसपटक हालसम्म ११ जना सांसदले मात्रै प्रश्न दर्ता गराएका छन् ।

रास्वपाका लागि छुट्याइएको थप चार कोटामा भने हालसम्म नाम दर्ता भएको छैन ।

सांसदहरूले प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित समसामयिक तथा जनसरोकारका विषयमा प्रश्न गर्ने तयारी गरेका छन् ।

सरकारका नीति तथा कार्यक्रम, सार्वजनिक सेवा, विकास निर्माण, सुशासन तथा प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिलगायत विषय प्रश्नोत्तरमा उठ्न सक्ने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष जवाफ दिनेछन् । नियमावलीमा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्थासमेत रहेको छ ।

सभामुख डोलप्रसाद अर्यालले बुधबारका लागि प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको समय निर्धारण गरेका थिए । प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि प्रश्नको विषयबारे लिखित जानकारी गराउनुपर्ने व्यवस्थाअनुसार भदौ ५ गतेसम्म प्रश्न दर्ता गरिएको हो ।

प्रधानमन्त्री शाहले पहिलोपटक प्रतिनिधिसभामा सांसदका प्रत्यक्ष प्रश्नको सामना गर्ने भएकाले बुधबारको प्रश्नोत्तरलाई चासोका साथ हेरिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x