सोमवार, भदौ ८, २०८३
Monday, August 24, 2026

न्याय सम्पादनमा मेलमिलापकर्ता

काठमाडौं – समाजमा हुने सानातिना विवाद औपचारिक न्यायिक प्रकृयामा लाग्दा अन्य जटिल न्यायिक विवादमा न्यायालयले पर्याप्त समय दिन नसक्दा, न्यायमा ढिलाइ हुने अवस्था आउँछ । साना विवादमा मेलमिलाप हुन सके समाजमा सुमधुर सम्बन्ध कायम हुन सक्छ जसमा मेलमिलापकर्ताको भूमिका महत्वपुर्ण हुन्छ ।

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले स्थानिय तहदेखि सर्बोच्च अदालतमा समेत मेलमिलाप केन्द्रको स्थापना गरिएको छ । विवाद समाधान गर्ने विभिन्न उपायहरू रहेका छन् ।

मेलमिलाप विवाद समाधानको विभिन्न उपाय मध्येको सर्वोत्तम उपाय हो । मुद्दा वा विवादका पक्षहरू बीचको विवादमा मान्य सहमतिमा पुग्न निष्पक्ष र तटस्थ तेस्रो पक्षबाट सहजकर्ताको रूपमा कार्य गर्ने र वार्ताको स्वेच्छिक र गोपनीय प्रक्रिया मेलमिलाप हो ।

आँफैले रोजेको मेलमिलापकर्ताको सहयोगमा दुवै पक्ष सहभागी भै छलफल गरी चित्त बुझ्ने गरी विवाद टुङ्गो लगाउने तरिकालाई मेलमिलाप भनिन्छ । मेलमिलापकर्ता भनेको के हो ? पक्षहरूबीचको विवादलाई छलफल गराई सहज वातावरण निर्माण सिर्जना गर्न तथा सो विषयमा सहमति कायम गर्नका लागि विवाद वा मुद्दाका पक्षहरूलाई उत्प्रेरित गर्ने तथा विवादित कुनै वा सबै विषयवस्तुमा मेलमिलाप गराउने उद्देश्यले सहजकर्ताको रूपमा कार्य गर्न पक्षहरूले रोजेको व्यक्ति वा संस्थालाई मेलमिलापकर्ता भनिन्छ ।

सामान्यतया पारिवारिक विवाद, लेनदेन, जग्गा जमिन जस्ता देवानी प्रकृतिका मुद्दा, सानातिना कुटपिट, लुटपिटल गायतका फौजदारी मुद्दाहरू र व्यापार वा व्यवसायिक प्रकृतिका कुनै पनि विवादमा मेलमिलाप प्रक्रिया अपनाउन सकिन्छ ।

तर, नेपाल सरकारवादी हुने अर्थात् गम्भीर प्रकृतिका फौजदारी मुद्दामा मेलमिलाप हुन सक्दैन । मेलमिलापकर्ता भन्नाले मेलमिलाप प्रक्रिया सञ्चालन गर्न योग्य र मेलमिलापको तालिम प्राप्त दक्ष व्यक्ति हो ।

हरेक अदालतका मेलमिलाप केन्द्रहरू र सामुदायमा सञ्चालित खासगरी गा.वि.स. सञ्चालित मेलमिलाप केन्द्रहरूमा यस्ता मेलमिलापकर्ताहरू सूचीकृत रहेका हुन्छन् ।

घर–परिवार, छर–छिमेक र समुदायमा रहेका समझदार व्यक्ति वा पक्षले पत्याएको त्यस्ता व्यक्तिहरूसमेत तालिम नै नलिएको भएपनि मेलमिलापकर्ता हुन सक्छन् । मेलमिलापकर्ताले समझदारीको वातावरण बनाई दुवै पक्षहरूलाई मान्य हुने गरी सहमतिमा पुर्‍याउन निष्पक्ष र तटस्थ सहजकर्ताको भूमिका निर्वाह गर्छ । मेलमिलापकर्ताले कसैको पक्ष लिदैन र कुनै कानूनी सल्लाह पनि दिदैन । पक्षहरूले आफै निर्णयमा पुग्ने हो र पक्षहरूलाई निर्णयमा पुग्न मेलमिलापकर्ताले सहयोग र सहजीकरण गर्दछ ।

मेलमिलाप गर्दा दवै पक्षलाई आफ्नो भनाई राख्ने अवसर दिनु पर्छ मेलमिलापकर्ताले आवश्यकक्ताअनुसार पक्षहरू छलफल गर्न सक्छन् एउटा छिटो छरितो उपाय भएकोले यसमा समय र पैसा दुवै बचत हुन्छ । विवाद प्रिय हुँदैनन् ।

विवाद सिर्जना भइसकेपश्चात त्यसका उपयुक्त, न्यायिक एवं न्यायोचित सम्बोधन हुन जरुरी हुन्छ । विवादको समयमा समाधान हुन नसक्ने हो भने यसले सकारात्मक नतिजा दिँदैन। विवादको सही समाधान भएमा समाजमा शान्तिपूर्ण अवस्था सिर्जना हुन सक्छ ।

अदालतको कार्यबोझ घटाउन,न्याय सरल एवं कम खर्चिलो बनाउन, मेलमिलाप अपनाउनुपर्ने अवधारणा विकसित हुँदै आएको छ । मेलमिलापकर्ताको सहजीकरण र पक्षहरूको संलग्नता एवं सहकार्यमा विवादको स्थायी समाधान गर्न सकिने मेलमिलाप पद्धतिमा मूलत: पारिवारिक विवाद एवं उपभोक्ता हित संरक्षणसम्बन्धी विवाद मेलमिलापबाट समाधान हुन उपयुक्त मानिन्छ। शीघ्र, सरल कार्यविधि, समय र श्रमको बचत हुने, गोपनियता कायम हुने, जित–जितको अवस्था हुने एवं स्वेच्छिक संलग्नता हुने भएकाले पनि मेलमिलापप्रतिको आकर्षण बढ्दो क्रममा रहेको पाइन्छ ।

कानुनी विवादमा न्याय निरूपणका तह धेरै हुने, मुद्दा फैसला र कार्यान्वयनमा समय लाग्ने हुँदा विवाद समाधानका वैकल्पिक उपायको खोजी गरियो । सानो–ठूलो, बलियो–कमजोर केही नभनी आपसी मन, व्यवहार र कागजातमा बाँधिने, समाहित हुने विधि मेलमिलाप हो ।

समाजमा हुने सानातिना विवाद औपचारिक न्यायिक प्रकृयामा लाग्दा अन्य जटिल न्यायिक विवादमा न्यायालयले पर्याप्त समय दिन नसक्दा, न्यायमा ढिलाइ हुने अवस्था आउँछ । साना विवादमा मेलमिलाप हुन सके समाजमा सुमधुर सम्बन्ध कायम हुन सक्छ । पूर्वाग्रही, पक्षपाती र प्रकृयामुखी मात्र हुने, अवस्थामा मेलमिलापले गति लिन सक्दैन । मेलमिलापकर्ताका रूपमा भूमिका खेल्ने व्यक्ति कानुनत: योग्य, तालिमप्राप्त, हुनुका साथै विचारमा तटस्थता, भूमिकामा सक्रियता र कर्तव्यमा क्रियाशीलताका साथ अगाडि बढ्नु जरुरी हुन्छ ।

मेलमिलाप पद्धतिको अनुशरणबाट समाजमा मेलमिलापयुक्त समाज निर्माण हुने आशा गर्न सकिन्छ पक्षहरू आफैले विवादको समाधानका उपाय तय गर्ने भएकोले मुद्दा छिट्टै टुङ्गो लाग्छ ।

दुवै पक्षको सन्तुष्टी हुने भएकाले जितको अनुभूति हुन्छ । मेलमिलाप प्रक्रियाबाट भएको मिलापत्र पक्षको निर्णयमा हुने भएकोले अदालती निर्णय सरह नै लागू हुन्छ । तसर्थ पनि न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुन्छ । पछिल्लो समय देवानी प्रकृतिका हरेक मुद्धालाई मेलमिलाप केन्द्रमा पठाउने गरिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x