आइतवार, असार २८, २०८३
Sunday, July 12, 2026

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने

काठमाण्डाै‌ं – बंगलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्केर आत्मसमर्पण गर्ने बताएकी छ्न् ।

करिब दुई वर्षपछि पहिलोपटक स्वदेश फर्कने योजना बनाएकी हसिनाले आफू यसवर्षको डिसेम्बरमा बंगलादेश फर्केर अदालतसमक्ष आत्मसमर्पण गर्ने बताएकी हुन् ।

उनी हाल भारतमा बसिरहेकी छन् । पक्राउ पर्ने वा ज्यानै जाने जोखिम भए पनि आफू यसै वर्षको डिसेम्बरमा आफ्नै देश फर्कने उनले घोषणा गरिकी हुन् ।

‘जब म फर्किन्छु, मलाई पक्राउ गर्न सकिन्छ । मेरो हत्या पनि हुन सक्छ । तर, म फर्कनेछु,’ समाचार संस्था रोयटर्ससँगको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले भनिन्, ‘मेरो पार्टीका नेता–कार्यकर्तामाथि लगातार कारबाही भइरहेको छ । यदि, मर्नु नै छ भने, आफ्नै देशको माटोमा मर्न चाहन्छु, जहाँ मेरा आमाबुबा समाधिस्थ छन् ।’

हसिनाले आफू एक्लै नफर्कने बताउँदै भारत तथा अन्य देशमा रहेका अवामी लिगका धेरै वरिष्ठ नेताहरू पनि बंगलादेश फर्केर अदालतमा आत्मसमर्पण गर्ने बताएकी हुन् । उनीहरूमध्ये पूर्वगृहमन्त्री असदुज्जामान खान कमाल पनि रहेका छन् ।

बंगलादेश फर्कने निर्णय पूर्णरूपमा आफ्नो व्यक्तिगत निर्णय भएको स्पष्ट पार्दै हसिनाले यस विषयमा भारत वा अन्य कुनै देशको सरकारसँग कुनै परामर्श नगरेको स्पष्ट पासरन् ।

लोकतन्त्र, निर्वाचन र न्यायजस्ता विषयमा कुनै पनि प्रकारको गोप्य सम्झौता नभएको पनि उनले बताइन् । भारतमा निर्वासनमा रहे पनि हसिना अझै अवामी लिगको गतिविधिमा सक्रिय छिन् । उनले अनलाइन बैठकमार्फत हालसम्म बंगलादेशका ३०० संसदीय निर्वाचन क्षेत्रमध्ये १२५ क्षेत्रका नेता तथा कार्यकर्तासँग संवाद गरिकी छन् ।

हसिनाले आफूविरुद्ध दायर गरिएका सबै मुद्दा राजनीतिक प्रेरित भएको दाबी गर्दै अदालतमा सुनुवाइ सुरु भएपछि आफूमाथि लगाइएका आरोपको वास्तविकता जनतासामु आउने उल्लेख गरिन् ।

हसिनाको नेतृत्वमा बंगलादेशले उल्लेखनीय आर्थिक विकास गरेको भए पनि विपक्षी दलमाथि दमन गरेको तथा लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाएको आरोप उनीमाथि लाग्दै आएको छ ।

हसिना जनवरी २०२४ मा लगातार चौथो कार्यकालका लागि बंगलादेशकी प्रधानमन्त्री बनेकी थिइन् । तर, त्यही वर्ष सरकारी सेवामा आरक्षण प्रणालीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन विस्तारै सरकारविरोधी आन्दोलनमा परिणत भएको थियो ।

स्थिति तनावपूर्ण बन्दै जाँदा देशका विभिन्न स्थानमा हिंसा भड्कियो । सुरक्षा बलको कारबाहीमा ठूलो संख्यामा मानिसहरूको ज्यान गयो । संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार उक्त हिंसामा करिब एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

बढ्दो विरोध प्रदर्शन र सुरक्षा जोखिमबीच अगस्ट २०२४ मा शेख हसिना बंगलादेश छोडेर भारत पुगेकी थिइन् । त्यसपछि बंगलादेशको अन्तरिम सरकारले उनीविरुद्ध विभिन्न मुद्दा दर्ता गर्‍यो ।

गत वर्ष नोभेम्बरमा युद्ध अपराधसम्बन्धी विशेष अदालतले विद्यार्थी आन्दोलनका क्रममा भएको हिंसासँग सम्बन्धित एक मुद्दामा उनको अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाएको थियो । हसिनाले उक्त फैसलालाई राजनीतिक प्रतिशोधको परिणाम भएको दाबी गर्दै आएकी छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x