चीन र अमेरिका मिलेर एक अत्यन्तै सुखद र गौरवमय भविष्य निर्माण गर्नसक्छौँ, – ट्रम्प
काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणको पहिलो दिन समकक्षी सी चिनफिङसँगको व्यक्तिगत सम्बन्धमा बढी केन्द्रित गरे ।
ट्रम्पले प्रशंसामा समय खर्च गरे पनि सी त्यसतर्फ केन्द्रित भएनन् । ट्रम्पको स्वागतमा २१ तोपको सलामी लगत्तै सी दुई मुलुकबीचको सम्बन्धमा केन्द्रित भए । उनले तत्कालै दुई मुलुकबीचको सम्बन्धका बीचमा रेखा कोरे । ताइवान मामिलामा अनावश्यक हस्तक्षेप नगर्न सुझाए ।
”ताइवान मामिलामा अमेरिकाले निकै सतर्कता र संयमताका साथ अघि बढ्नुपर्छ,” अमेरिकी राष्ट्रपतिलाई उनले सुझाएको कुरा उल्लेख गर्दै सिन्ह्वाले लेखेको छ ।
सीले सम्बोधनको सुरुदेखि नै आपसी सम्बन्धका सीमाबारे सचेत गराउन खोजे । उक्त क्षणले दुई प्रतिद्वन्द्वीबीचको नयाँ सन्तुलनको प्रतिनिधित्व गरेको थियो । चीन समान हैसियत रहेको र महाशक्तिका रूपमा उभिने बेला आएको सन्देश प्रवाह गर्न सी योजनाबद्ध रूपमा प्रस्तुत भइरहे ।
बेइजिङ भ्रमणको पहिलो दिन ट्रम्प निकै सौहार्द र लचिलो देखिए । उनको प्रस्तुति चीनको कठोर आलोचक छविको ठिक विपरीत थियो । यता सीले मुस्कुराउँदै ट्रम्पको स्वागत गरे पनि ताइवान मामिलामा निकै कठोर रूपमा प्रस्तुत हुँदै स्पष्ट चेतावनी दिए ।
सीले आफ्नो अभिव्यक्तिमार्फत आत्मविश्वास र दृढतालाई प्रस्तुत गरे । अमेरिका उम्किनै नसक्नेगरी इरानसँग जटिल द्वन्द्वमा फस्दै गएको उनले प्रस्टसँग बुझेका थिए । उनले त्यहीअनुसार अमेरिकाप्रति धारणा राखे ।
चिनियाँ राष्ट्रपतिले भ्रमणको पहिलो दिन ट्रम्पलाई ‘टेम्पल अफ हेभन’को भ्रमण गराए । त्यसको उद्देश्य विशेष थियो । सीले ऐतिहासिक सम्पदाको वर्तमान सान्दर्भिकता देखाउँदै आपसी सम्बन्धको विशेषता दर्साउन खोजे । बिहीबार राति राजकीय भोजको प्रत्यक्ष प्रसारण भएको थियो । त्यहाँ ट्रम्पले सन् १७८३ मा १४ महिना लामो समुद्री यात्राबाट व्यापारिक ढोका खोलेको प्रसंग उप्काए।
ट्रम्पले जटिल अवस्थामा पनि समस्या सुल्झाएको बताउँदै दुई देशबीचका समस्या दुई महान व्यक्तिले मात्रै समाधान गर्न सक्ने बताए । ट्रम्पले असहज व्यापार स्थितिमा दुवै मुलुकले सहजता ल्याउन सक्ने उल्लेख गरे ।
” हाम्रो व्यक्तिगत सम्बन्धबारे धेरै अनविज्ञ छन् । सीले समस्या पर्दा मलाई सम्पर्क गर्नुहुन्थ्यो । मैले सीलाई सम्पर्क गर्थे । हामीले धेरै चुनौतीहरू मिलेर सुल्झायौँ । अब हामी मिलेर एक अत्यन्तै सुखद र गौरवमय भविष्य निर्माण गर्नसक्छौँ, ” ट्रम्पले भने ।
यता सीले प्रतिस्पर्धालाई द्वन्द्वमा रूपान्तरण हुनबाट जोगिनुपर्ने धारणा व्यक्त गरे । ‘थुसिडाइड्स ट्रयाप’बाट जोगिनुपर्ने सीको भनाइ थियो । हार्वर्डका प्राध्यापक ग्राहम एलिसनले स्थापित शक्ति र उदयीमान शक्तिबीच निम्तिने द्वन्द्वलाई ‘थुसिडाइड्स ट्रयाप’का रूपमा व्याख्या गरेका थिए ।
सीले दुई ठूला राष्ट्रबीचको प्रतिस्पर्धाको चर्चालाई बन्द गर्नुपर्ने र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरे ।
”चीन र अमेरिकाबीचका साझा हित हाम्रा मतभेदभन्दा धेरै माथि छ । हाम्रो सम्बन्धको स्थिरता विश्वकै हितमा छ,” सीको कुरा उद्धृत गर्दै सिन्ह्वाले उल्लेख गरेको छ ।
सीले आपसी सम्बन्धको सही व्यवस्थापन नभएको खण्डमा खतरनाक मोड आउनसक्ने चेतावनी पनि दिए ।
ताइवान मामिलाप्रति पनि इंगित गर्दै उनले भने,”आपसी सम्बन्धको सही व्यवस्थापन भएन भने दुई देशबीच टकराब हुनसक्छ । यसले अत्यन्तै खतरनाक स्थितिमा पुर्याउने छ ।”
शिखर वार्तामा सीले रणनीति स्थिरतायुक्त रचनात्मक सम्बन्ध निर्माणका लागि ट्रम्पसँग सहकार्य गर्न तयार रहेको बताए ।
चीन मामिला विज्ञ रोस डोसीकाअनुसार चीनले अमेरिकासँग व्यापार युद्धको स्थिति अन्त्य चाहेको छ । ट्रम्पको कार्यकालपछि पनि व्यापार युद्ध ननिम्तिने कुरालाई आधारभूत मानक मान्दै चीनले सम्बन्ध बनाउन चाहेको छ ।
ट्रम्प शिखर वार्तामा तत्कालै सौदाबाजीमा खोज्छन् । चीनको विरोध गर्ने र व्यापारिक रूपमा चुनौती दिने ट्रम्पले चिनियाँ बजारमा पहुँच खोज्न व्यापारीहरूको जम्बो टोली लिएर गएका छन् ।
यसले बिल क्लिन्टन र जर्ज डब्लू बुसको नीतिको झल्को दिन्थ्यो । उनीहरू पनि चिनियाँ बजारमा संभावना खोज्न व्यापारी लिएर जान्थे ।
ट्रम्पले व्यापारीहरूको जम्बो टोली ल्याउँदा सीले व्यापारीहरूलाई शिखर सम्मेलनको प्रतिनिधिमण्डलमा राखेनन् । टेस्लाका मालिका एलन मस्क आउँदा त्यहाँ बीवाईडीका मालिक उपस्थित थिएनन् । अमेरिकी प्रविधि कम्पनीका मालिकहरू उपस्थित हुँदा डिपसिकका मालिक त्यहाँ थिएनन् ।
चीन र अमेरिकाबीच छलफलको सूची भिन्न थिए । ह्वाइटहाउसले फेन्टानाइलको कच्चा पदार्थमाथिको नियन्त्रण र अमेरिकी कृषि उपज खरिदको मुद्दामा जोड दिएको थियो । उक्त सूचीमा दुर्लभ खनिज पदार्थ निर्यातमा प्रतिबन्धको विषय उल्लेख भएन ।
होर्मुजमा अवरोध हटाउन दुवै राष्ट्रप्रमुख सहमत देखिएका छन् । यद्यपि इरानमाथिको आफ्नो प्रभावको आडमा अमेरिकालाई चीनले सहजै सहयोग गर्ने संभावना कमै रहेको जानकारहरू बताउँछन् । यी दुई नेताबीच शुक्रबार पनि छलफल हुँदैछ । बेइजिङमा ट्रम्प मुग्ध भइरहँदा सी भने निकै सतर्कताका साथ प्रस्तुत भइरहेका छन् ।


WRITE COMMENTS FOR THIS ARTICLE