सोमवार, बैशाख २८, २०८३
Monday, May 11, 2026

प्रधानन्यायाधीश सिफारिस कसरी असंवैधानिक ? बुझिनँ मैले, बुझाइदेऊ कसैले-सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानन्यायाधीश सिफारिसको विषयलाई सडकको मुद्दा नबनाउन आग्रह गरेका छन् ।

रास्वपा सांसदहरूलाई प्रशिक्षण दिन आयोजित कार्यक्रमको समापनका क्रममा आइतबार (वैशाख २७) उनले संविधानको व्यवस्थाअनुसार नै संवैधानिक परिषद्को बैठकबाट नयाँ प्रधानन्यायाधीश सिफारिस गरिएको स्पष्ट पारे । उनले यो प्रक्रिया कसरी असंवैधानिक भयो ? भन्दै प्रश्न गरे ।

“एकजना कसैले भन्दिनुस्, कसरी असंवैधानिक भयो ? असंवैधानिक भएको भए ६ जना न्यायाधीशलाई प्रधानन्यायाधीश बन्न योग्य भनेर संवैधानिक परिषद्‌मा किन सिफारिस गरेको ? त्यही असंवैधानिक काम भयो होला नि,” उनले भने ।

सर्वोच्च अदालतका सबैभन्दा ‘सिनियर’ न्यायाधीशलाई नै प्रधानन्यायाधीशमा सिफारिस गर्नुपर्ने भन्ने व्यवस्था संविधानमा नरहेको उनले बताए ।

यो विधि गलत भए संविधान संशोधनका विषयमा बहस गर्न उनले आग्रह गरे । “यदि, त्यही (पुरानो) परम्परामा जाने भए ६ जनाको उपस्थितिमा संवैधानिक परिषद्‌मा एकजना नियुक्ति सकिँदैनथ्यो । आज कसलाई कतिजनाको भाग लगाउने भनेर भागबन्डामा छलफल चलिरहेको हुन्थ्यो,” उनले भने ।

उनले आफूहरू सरकारमा आउनुपूर्व नै न्यायाधीशको नाम ‘सर्टलिस्ट’ भइसकेको बताए । विधिबाटै सिफारिस गरिएको भन्दै उनले न्यायाधीशका विषयमा जग हँसाइ नगर्न आग्रह गरे । न्याय पाइन्छ भन्नेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ थियो ।

उनले प्रधानन्यायाधीश सिफारिसमा ६ मध्ये चारजनाले चुनेको विषय कसरी संविधानविपरीत भयो भन्ने बुझाइदिन आग्रह गरे । “संविधानले गरेको व्यवस्थालाई टेकेर भएको सिफारिस र सिफारिसमध्येबाट संविधानले तोकेको सदस्यहरूले गर्नुभएको भोटिङका आधारमा उपस्थित ६ मध्ये चारजनाले चुन्नुभएको विषय कसरी असंवैधानिक, संविधानविपरीत भयो ? बुझिनँ मैले, बुझाइदेऊ कसैले,” उनले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x