उम्मेदवारका परिवार एवं नातेदारको बैंक खाता निगरानी सुरु
काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवार एवं नातेदारको बैंक खाता निगरानी सुरु गरेको छ।
निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नका लागि खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटकपटक निर्देशन दिएको थियो। अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले बताए।
‘हामीले राष्ट्र बैंकलाई पत्राचार पनि गरेका छौँ। यदि उम्मेदवारले पुरानै खाता प्रयोग गरेर खर्च गर्नुभएको छ भने उम्मेदवार र उम्मेदवारको परिवारको बैंक खाताको कारोवारको निगरानी गरिरहेका छौँ,’ उनले भने।
संयोजक जबराले बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानुनअनुसार आयोगले कारबाहीको निर्णय गर्ने बताए। ‘आयोगले निर्वाचन प्रयोजनको छुट्टै खाता खोल्न निर्देशन जारी गरेको थियो। निर्देशन मान्नुभएन भने, भविष्यमा आचारसंहिता उल्लघंन अन्तर्गत निर्वाचन कसुरको ऐन आकर्षित गरी ब्ल्याकलिस्टमा राखेर आयोगले कारबाहीको निर्णय गर्नसक्छ। हामी त्यो गर्नसक्छौँ,’ उनले भने।
उम्मेदवारको चुनावी खर्चको अुनगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भईरहेको जबराले जानकारी दिए। ‘हामीले उम्मेदवारले गर्ने खर्चका सम्बन्धमा जिल्लादेखि नै अनुगमन गरिरहेका छौँ। त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित जिल्लाका निर्वाचन उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्नुहुन्छ,’ उनले भने।
आचारसंहिताको पूर्ण पालना गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने वातावरण मिलाउन पनि आयुक्त जबराले सबैलाई आग्रह गरे।


WRITE COMMENTS FOR THIS ARTICLE