शुक्रबार, कार्तिक २, २०८१
Friday, October 18, 2024

महिलाविरुद्ध अपराधको मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्छ–नरेन्द्र मोदी

काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा महिलाहरूको सुरक्षाको मुद्दालाई उठाएका छन्।

लाल किल्लाबाट देशलाई सम्बोधन गर्ने क्रममा राज्य उनले सरकारहरूले महिलाविरुद्धको अपराधको मुद्दालाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका हुन्। उनले दोषीहरूको मनमा डर पैदा गर्न जरुरी रहेको बताएका छन्।

प्रधानमन्त्री मोदीले प्रत्यक्ष रूपमा कुनै घटनाको बारेमा स्पष्ट रूपमा उल्लेख गरेनन् तर यति वेला कोलकाताको एउटा सरकारी अस्पतालमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्यालाई लिएर देशभर डाक्टरले विरोध प्रदर्शन गरिरहेका वेला मोदीको यस्तो भनाइ आएको बिबिसीले जनाएको छ। ‘म आज आफ्नो पीडा व्यक्त गर्न चाहन्छु, हामीले गम्भीर भएर सोच्नुपर्छ, हाम्रा आमा, दिदीबहिनी, छोरीहरूमाथि जस्तो अन्याय भइरहेको छ, त्यसप्रतिको आक्रोश बढ्दो छ, प्रधानमन्त्री मोदीले भने‚ ‘यसलाई पूरै देश, समाज र हाम्रा राज्य सरकारहरूले गम्भीरतापूर्वक लिनुपर्छ।’

प्रधानमन्त्री मोदीले महिलाहरूविरुद्धको अपराधको छिटोभन्दा छिटो अनुसन्धान हुनुपर्ने बताए। राक्षसी काम गर्नेलाई तत्काल कडा सजाय हुने कुरा, समाजमा विश्वास पैदा गर्न जरुरी रहेको बताए। ‘बलात्कारको घटना भएपछि मिडियामा छाइरहन्छ तर यस्ता राक्षसी कुकर्म गर्ने व्यक्तिलाई सजाय भएको समाचार बनाइँदैन। अब यस्ता दुष्कर्म गर्नेहरूको समाचार बनोस्, उनीहरूमा डर बनाउन निकै जरुरी भइसकेको छ भन्ने मलाई लाग्छ’‚ प्रधानमन्त्री मोदीले भने। महिलाको सहभागिता र नेतृत्वमा देश अघि बढिरहेको भन्दै प्रधानमन्त्री मोदीले तर उनीहरूमाथिको अत्याचार चिन्ताको विषय भएको बताएका छन्।

पश्चिम बंगालमा गत शुक्रबार एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो। घटना भएको पाँच दिन भइसकेको छ तर जनआक्रोश लगातार बढिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कोलकाताको आरजी कर मेडिकल कलेजमा अध्ययनरत ३१ वर्षीया महिला डाक्टरको गत शुक्रबार बिहान सेमिनार हलमा शव भेटिएको थियो। उनी खाना खाएपछि सेमिनार हलमै सुतेकी थिइन्। प्रहरीका अनुसार बलात्कार र हत्याको घटना राति ३ बजेदेखि बिहान ६ बजेटको बीचमा भएको प्रहरीको अनुमान छ। यो घटनाको तुलना दिल्लीमा निर्भया केससँग जोडेर गरिएको छ।

डाक्टरका बलात्कार र हत्याको घटनापछि व्यापक विरोध प्रदर्शन भइरहेको छ। घटनालाई लिएर आक्रोश भड्किएको छ। युवती तथा महिलाहरूले अभियान नै चलाएर र्‍याली आयोजना गरेका छन्। यस्ता र्‍याली विभिन्न देशमा महिलामाथि हुने हिंसाको विरोधमा वेलावेला आयोजना हुने गरेको छ। कलेजका प्रिन्सिपलले राजीनामा दिनुपरेको छ भने अस्पताल प्रशासनले ड्यूटीमा लापरवाही गरेको भन्दै दुई सुरक्षाकर्मीलाई बर्खास्त गरिदिएको छ। प्रहरीले अभियुक्तलाई पक्राउ गरेको र अभियुक्त कोलकाता प्रहरीसँग सिभिक भोलुन्टिएरका रुपमा काम गर्थे र कैयौंपटक अस्पतालबाहिर प्रहरी चौकीमा तैनाथ हुने गरेका थिए।

रिक्लेम द नाइट

बुधाबार रातको ११ बजे सडक किनारामा बनेको अस्थायी मञ्च वरपर महिला र युवतीहरूसहित हातमा पोस्टर, ब्यानर बोकेको भीड जम्मा भयो। कार्यक्रमका वक्ता धेरैजसो महिला थिए। नाराबाजी भइरहेको थियो, कार्यक्रमको नाम नै रिक्लेम द नाइट अर्थात् रातमाथि कब्जा गर भन्ने राखिएको थियो, जहाँ भेला भएका महिलाले आधीरातमा सडक नै कब्जा गरे।

सुसान अलेक्जेन्डर स्पीथ नाम गरेकी एक युवती माइक्रोबायोलोजिस्टको राति घर फर्कदै गर्दा चक्कु प्रहार गरी हत्या गरिएको थियो। त्यसको विरोधमा ट्यांक बैंक द नाइट शीर्ष र्‍या​ली आयोजना गरियो। दुई वर्षपछि महिलाविरुद्धको हिंसाको विरोधमा जर्मनीमा पनि त्यस्तै र्‍या​ली आयोजना गरियो।

सन् १९७७ नोभेम्बर १२ मा इंग्ल्यान्डको लिड्समा रिक्लेम द नाइट अभियानमार्फत करिब डेढ सय महिला आधा रातमा सडकमा कब्जा जमाउन उत्रिएका थिए। त्यसको अघिल्लो वर्ष अष्ट्रेलियाको सिड्नी र पर्थमा महिलाहरूले रातको समयमा जुलुस निकालेका थिए। अमेरिका र जर्मनीसहित कैयौं देशमा बेलाबेला यस्तो अभियानको अपिल गरिन्छ।

निर्भया सामूहिक बलात्कारको विरोधमा कोलकातामा पनि यसको आयोजना गरिएको थियो। दिल्लीका सरकारी अस्पतालमा पनि सोमबारदेखि अनिश्चितकालीन हड्ताल घोषणा गरिएको छ। गतराती हिंसात्मक प्रदर्शन भएको छ। अज्ञात भिडले अस्पताल परिसरमा प्रवेश गरी गाडी, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको छ भने बलात्कार एवं हत्या भएको ठाउँमा पनि तोडफोड गरिएका दाबी गरिएको छ।

प्रदर्शनकारीहरुले अस्पतालमा आक्रमण गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। भीड रोक्न प्रहरी पनि असफल भएको थियो। पूरै भीड भित्र प्रवेश गरी अन्धाधुन्ध कुटाइ गरिरहेका थिए। डाक्टरहरु पनि घाइते भएका छन्। भीडले आक्रमण गर्न थालेपछि अस्पतालमा रहेका डाक्टरहरू लुकेका थिए भने केही महिलामाथि पनि आक्रमण भएको छ। कोलकाता प्रहरीले गलत मिडिया क्याम्पेनका कारण हिंसात्मक गतिविधि भएका बताएको छ।

हिंसापछि राजनीति 

आरजी कार मेडिकल कलेज पश्चिम बंगालको सबैभन्दा ठूला अस्पतालमध्येको एक हो। २६ एकड क्षेत्रफलमा फैलिएको उक्त अस्पतालमा विरामी भर्ना गर्नका लागि १२०० शय्या रहेको उक्त अस्पतालमा ओपिडीमा करिब २५०० विरामी हरेक दिन पुग्ने गर्छन्।

यसका साथै इमरजेन्सी विभागमा पनि एक हजारभन्दा बढी विरामी दिनहुँ हुने गरेका बिबिसीले जनाएको छ। यति ठूलो अस्पतालमा डाक्टरमाथि नै भएको यस्तो घटनापछि देशभरका अस्पतालका डाक्टरहरू स्तब्ध भएका छन्। संवेदनशील घटनालाई लिएर पश्चिम बंगाल सरकारको प्रतिक्रियालाई लिएर थप आक्रोश बढेको आजतकले लेखेको छ। सत्ताधारी पार्टी तृणमूल कांग्रेसलेका राष्ट्रिय महासचिव एवं लोकसभा सांसद अभिषेक बनर्जीले अराजक गुन्डागर्दी र बर्बरताले सबै सीमा नाघेको भन्दै हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिलाई कारवाही गर्ने बताएका बिबिसीले जनाएको छ।

प्रदर्शनकारी डाक्टरहरुको माग जायज र न्यायसंगत रहेको भन्दै सामान्य आवश्यकता पूरा हुने अपेक्षा उनीहरूले सरकारसमक्ष गर्न सक्ने र उनीहरुको सुरक्षालाई प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।  यद्यपि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफू मृत्युदण्डको विरोधी भए पनि यस मुद्दामा अभियुक्तलाई मृत्युको सजायको समर्थन गर्ने बताएकी छिन्।

मेडिकल जर्नल ल्यासेन्टको एउटा रिपोर्टअनुसार सन् २००७ देखि २०१९ को अवधिमा भारतमा स्वास्थ्यकर्मीहरूविरुद्ध हिंसात्मक आक्रमणका १५३ वटा मुद्दा दर्ता भएका थिए। उक्त प्रतिवेदनमा आफूहरूको सक्रिय निगरानीमा सन् २०२० मा २२५, २०२१ म ११० घटना पत्ता लागेको उल्लेख छ।

 

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x