बिहिबार, असार ७, २०८१
Thursday, June 20, 2024

प्रधानमन्त्री दाहालले अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी ड्यामसाइट र पावरहाउसको हवाई अनुगमन गर्ने

सङ्खुवासभा— सङ्खुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज हुने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्ने छन्।

अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी (एसजेबीएन)ले गरिरहेको छ।

यस्तै, प्रधानमन्त्री दाहालले आजै आमराङमा अरुण तेस्रो सुरुङको ब्रेक थ्रु गरी ड्यामसाइट र पावरहाउसको हवाई अनुगमन गर्ने छन्।

आयोजनाको मुख्य सुरुङ मकालु– ५ फ्याक्सिन्दाको आमराङदेखि चिचिला गाउँपालिका– ३ दिदिङ पुखुवाको पावरहाउसमा निस्कने सुरुङको लम्बाइ ११ दशमलव ८३७ किलोमिटर छ।

कुनै अवरोध नभएमा एक वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाले जनाएको छ। आयोजना सम्पन्न भइसकेपछि मात्र स्थानीयले शेयर पाउने परियोजना विकास सम्झौता (पीडीए) मा व्यवस्था गरिएको छ। आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको एक वर्षभित्र स्थानीयलाई शेयर दिने पिडिएमा उल्लेख छ।

पीडीएअनुसार यस परियोजनाबाट एक सय ६० करोड रुपैयाँ स्थानीयलाई शेयर दिइनेछ । शेयर रकममध्ये पहिलो किस्तामा ५० प्रतिशत नौ सय ८० करोड र पहिलो उत्पादन वर्ष सकिएपछि दोस्रो उत्पादन वर्षको अन्त्यमा बाँकी ५० प्रतिशत शेयर वितरण गरिनेछ। शेयर वितरण गर्दा प्रत्यक्ष प्रभावितलाई पहिलो प्राथमिकतामा राखिने पिडिएमा भनिएको छ।

करिब एक खर्ब चार अर्ब लागत अनुमान गरिएको आयोजनाबाट नेपाललाई २१ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ । विभिन्न शीर्षकमा तीन खर्ब ४८ रुपैयाँ आर्थिक लाभ मिल्ने जनाइएको छ।

विद्युत् उत्पादनपछि प्रत्यक्ष प्रभावित परिवारले प्रतिमहिना ३० युनिटसम्म विद्युत् निःशुल्क प्राप्त गर्नेछन्।  निर्माण सम्पन्न भएको २५ वर्षपछि आयोजना नेपाल सरकारलाई हस्तान्तरण गर्ने पीडीएमा उल्लेख छ। अरुण तेस्रो जलविद्युत् आयोजनामा नेपाली र भारतीयसहित चार हजार कामदार कार्यरत छन्।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

0
Would love your thoughts, please comment.x
()
x